
बुद्धशान्ति, ३ पुस । मानिसका जीवनमा समस्याहरु बग्रेल्ती आउँछन् र छन् पनि । समस्या समाधान गर्दै जानु नै मानव जीवन हुनुको एउटा सत्यता हो । समस्या सबैलाई हुन्छ तर सबैका समस्या फरक–फरक हुन्छन् । फरक–फरक समस्या भएपनि समस्याको एउटै सार हुन्छ त्यो हो ‘पीडा’ ।
कसैका समस्या स्वयम्को कठोर मेहनतले हल हुन सक्छ, कसैको समस्या हल गर्न स्वयम् व्यक्ति र परिवारको प्रयासले संम्भव हुँदैन । सामुहिक रुपमा गरिएको प्रयासले समस्या समाधान गर्नका लागि ठूलो बल मिल्दछ ।
समस्या समाधानमा ‘सामुहिक प्रयास’ कहिले काहिँ उत्तोलकको रुपमा देखिन सक्छ । सामुहिक प्रयासलाई उत्तोलक बनाउने हो भने समस्यामा परेकाले नयाँ जीवन पाउँछन् । झापाको बुद्धशान्ति–३ धाइजन चोकबाट थोरै उत्तरमा पर्ने चौधरी परिवारमा एउटा यस्तै ठूलो समस्या आएको छ । कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको चौधरी परिवारले परिवारमा देखिएको समस्या समाधान गर्न सक्ने अवस्था नै छैन । यतिबेला ‘सामुहिक प्रयास’ उत्तोलक बन्नुपर्ने अवस्था सृजना भएको छ, त्यो चौधरी परिवारको समस्या हल गर्न ।
अरुण चौधरी र मञ्जु चौधरीको १५ वर्षीय छोरा आशिष चौधरीको दुबै मृगौलाले काम गर्न छाडिसकेको छ । जुनसुकै हालतमा उनको मृगौला फेर्नुपर्ने डाक्टरले सुझाव दिएका छन् । मृगौला फेर्न सकिएन भने १५ वर्षीय बालक आशिष बाँच्न सक्ने अवस्था धेरै कम छ । डाक्टरले आषिशको दुबै मृगौलाले काम गर्न छाडेको हुँदा तत्काल मृगौला फेर्नु पर्ने भनेपछि त्यो परिवारको हाँसो खुसी सबै आशुँमा परिणत भएको छ । सन्तानको उज्ज्वल भविश्यको सपना बोकेर बिदेशीएका आशिषका बुबा छोरामा देखिएको स्वास्थ्य समस्याको खबरले स्वदेश फर्किए ।
कमजोर आर्थिक अवस्थाले रुमलिएको परिवारको आम्दानीको स्रोत त्यतिबेलै सकियो जब अरुण छोराको उपचारको लागि स्वदेश फर्किए । ‘आषिशको दैनिक उपचार गरिरहनु परेको छ’–‘डाक्टरले मृगौला फेर्नु भनेको छ, जसोतसो खर्च जुटाएर अहिलेसम्म उपचार ग¥यौं तर अब थप उपचार गर्ने एक रुपैंया पनि छैन, ठूलो समस्यामा परेका छौं हजुर ।’ आषिशका बुबा अरुण गहभरी आशुँ पारेर पीडा पोख्छन् । आशिषकी आमा मञ्जु भन्छिन् ‘डाक्टरलाई मेरो मृगौला छोरालाई दिन मिल्छ भनेर जाँच गर्दा मिल्छ भनेको छ, छोराको दीर्घजीवनका लागि म मेरो मृगौला दिन तयार छु, तर मृगौला फेर्न १५ लाख बढी चाहिन्छ भनेको छ, कहाँबाट ल्याउनु त्यतिका रकम ?’
मेचीनगर १२ मा रहेको दुर्गा अंग्रेजी माविमा कक्षा १० मा अध्ययनरत् आशिष पढाईमा पनि अब्बल रहको सो विद्यालयका प्रिन्सिपल भोजबहादुर कार्कीले बताए । उनको नयाँ जीवनका लागि प्रिन्सिपल कार्कीले पनि सबैसँग सहयोगका लागि अनुरोध गरेका छन् । उता बिरामी १५ वर्षीय आशिषले म बाँच्न चाहन्छु, बाँचेर परिवार र समाजको सहारा बन्न चाहन्छु भन्दै आफूलाई बचाईदिन सबैसँग अनुरोध गरेका छन् । ‘जब मैलै मेरो मृगौला फेल भएको थाहा पाएँ, मेरा सबै तागत सकियो, त्यो कुरा सुनेपछि म एक्लै कोठामा घण्टौंसम्म रोएं ।’ आशिष भन्छन् ‘जीवनको मुल्य थाहा पाएँ, मलाई बचाउनुस् म बाँच्न चाहन्छु, विन्ती ।’
यसैबीच आशिषको जीवन रक्षाका आशिष बचाउ अभियान सुरु गरिएको छ । सबैसँग सहयोगको अपील गर्दै आशिष बचाउ अभियान सुरु गरिएको आशिष बचाउ समितिका अध्यक्ष भोजबहादुर कार्कीले जनाएका छन् । सो समितिको सचिवमा खगेन्द्र आचार्य, कोषाध्यक्ष यानु न्यौपाने रहेका छन् । त्यस्तै सदस्यमा विष्णु सापकोटा, जगन भट्टराई, राजन चिमरिया, कृष्ण धमला, सावित्रा विष्ट, भिमा अधिकारी, इन्द्र मादेन खवास, विनोद मेचे, पुष्पपाण्डे विष्ट, मोतिलाल चौधरी, दिलिप यौङहाङ, योगेशभट्टराई, कीशुलाल मेचे, रुद्रकुमार लिम्बु, विष्णुप्रसाद रिमाल, पूर्ण सुब्बा, अनिल वाग्ले, वसन लिम्बु रहेका छन् ।
सो समितिले विभिन्न विद्यालयहरुमा गएर अभियान सञ्चालन गरिरहेको छ । आशिष बचाउ समितिले सहयोगी मनहरुलाई सहयोग गरेर आशिषको जीवन बचाइदिन अनुरोध गरेको छ । समितिले आशिष बचाउ अभियानका लागि ग्लोवल आईएमई बैंकको खाता नम्बर ७७०१०१००००२१९ मार्फत रकम संकलन गरिरहेको सचिव आचार्यले जनाएका छन् । आचार्यले आशिषको अवस्थाबारे परिवारसँगै सम्पर्क गरेर पनि गर्न सकिने जनाएका छन् । उनले आशिषका बुबा अरुण (९८१४०८६३५७), आमा मञ्जु (९८१६०१५६१४) लाई सम्पर्क गर्न सकिने पनि जनाएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

