
निशान निरौला
इलाम, ६ साउन । एचकेआर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हास्य टेलिफिल्म ‘जिन्दगी लफडै लफडा’ श्रावण ६ गते मङ्गलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध आयाम समेटेर तयार पारिएको टेलिफिल्मले हाँस्यसहितको गहिरो सामाजिक सन्देश दिन खोजेको निर्माण पक्षले जनाएको छ।
सूर्योदय नगरपालिका–१, मंगलबारेमा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, बोलीचाली र जीवनशैलीलाई नजिकबाट चित्रण गरिएको छ। हिमाल, पहाड, तराई, छिमेकी भारत र विदेशमा बसोबास गर्ने नेपालीको कथासमेत समेटिएको छ।
निर्देशक तथा कथाकार हिकस राईका अनुसार टेलिफिल्ममा हाँस्य र भावनात्मक दुवै पक्ष समेटिएको छ। “दर्शकले एकछिन हाँसोका खित्का पाउनेछन् भने अर्कोतिर आँसुका थोपा पनि पाउनेछन्,” उनले भने।
टेलिफिल्ममा इलामे पत्रकार बिक्रम सुन्दासले मोहनलाल पात्रको भूमिका निर्वाह गरेका छन्। अन्य कलाकारहरूमा मुकेश गुरुङ (चुलबुले), साहिल कार्की (भैरे), विपना लेप्चा (आमा), हेम गेशा (देशी कान्छा), निकिता राई (चाँचरी), कुलमित लेप्चा (ठुली), प्रमोद शुब्बा (सालो), सुचन सम्पाङ राई (छोरा) र निर्देशक राई स्वयं विदेशी पात्रको भूमिकामा देखिनेछन्।
टेलिफिल्म एचकेआर इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिनेछ। दर्शकको माया र साथप्रति टिम विश्वस्त रहेको पत्रकार सुन्दासले बताएका छन्।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


