
काठमाडौँ, १२ साउन । अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीले निर्देशन गर्न लागेको फिल्म ‘सुख दुःख’ मा अभिनेत्री मिथिला शर्मा अनुबन्धित भएकी छन् । उनलाई निर्मात्री समेत रहेकी अधिकारीले फिल्मका लागि अनुबन्धित गरेकी हुन् ।
सुख दुःखमा मिथिला शर्मालाई सहभागी गराउन पाउँदा धेरै नै उत्साहित रहेको नीताले बताइन् । दिग्गज कलाकार आफ्नो फिल्ममा रहनु आफ्ना लागि सौभाग्य भएको उनको भनाई छ । फिल्मका लागि चर्चित भारतीय छायाकार कवीरलाल र शाहिदलाल डिओपीका लागि अनुबन्ध भएका छन् । फिल्मको मुख्य कलाकार को रहने हुन् निर्माण पक्षले खुलाएको छैन ।
नीताले यो फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेकी हुन् । फिल्मको निर्माण व्यवस्थापनको जिम्मा शङ्कर पाण्डेलाई दिइएको छ ।
‘नीता फिल्म्स’ को ब्यानरमा बन्न लागेको यो फिल्म आगामी वर्ष दसैँको फूलपातीका अवसरमा प्रदर्शनमा ल्याउने योजना निर्माण पक्षको छ । फिल्मको वितरण अधिकार उपत्यकाबाहिर एफडी कम्पनीले लिएको छ भने उपत्यकाभित्र रिच इन्टरटेनमेन्टले पाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


