
निशान निरौला
झापा, ११ पुस । पछिल्ला आठ वर्षदेखि फिल्म क्षेत्रमा निरन्तर संघर्ष गर्दै आएका कलाकार प्रतिभा नारायण बिक अब दर्शकमाझ एक सशक्त कलाकारका रूपमा चिनिँदै गएका छन् । फिल्म अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुलेका उनी मुम्बईमा बसेर बलिउडमा समेत संघर्षरत रहे । सोही क्रममा उनले बलिउड सुपरस्टार विक्की कौशलसँग काम गर्ने अवसर पाएका थिए ।
नेपाल फर्किएपछि उनले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ जस्ता चर्चित सिरिज तथा दर्जनौं नेपाली फिल्महरूमा सहायक भूमिकामा अभिनय गरेका छन् । त्यस्तै, म्युजिक भिडियो र वेब सिरिजमार्फत पनि उनले आफ्नो अभिनय कौशल प्रस्तुत गर्दै आएका छन् ।
हाल उनले निर्देशक रोशन दासको निर्देशनमा बन्ने नयाँ फिल्म ‘प्रतिवैरम्’ मार्फत मुख्य खलनायक अर्थात् नेगेटिभ प्रहरी इन्स्पेक्टरको भूमिकामा दर्शकमाझ देखिन लागेका छन् । यो फिल्म आगामी जेठ महिनामा प्रदर्शनमा आउने तयारीमा छ ।
यस फिल्ममा उनले निभाएको कठोर, रहस्यमय र प्रभावशाली प्रहरी चरित्रले दर्शकलाई नयाँ स्वाद दिने विश्वास गरिएको छ । कलाकार प्रतिभा नारायण आफूलाई “एक अब्बल कलाकारका रूपमा चिनाउने यात्रामा रहेको” बताउँदै यस भूमिकालाई आफ्नो करिअरको महत्वपूर्ण मोडका रूपमा लिएका छन् ।
लगातारको मेहनत, थिएटरको अभ्यास र विभिन्न माध्यममा गरेको अभिनयले उनी आज नेपाली फिल्म क्षेत्रमा लोकप्रिय बन्दै गएका कलाकारको रूपमा उभिएका छन् । ‘प्रतिवैरम्’ मार्फत उनले आफूभित्रको कलाकारिता अझ बलियो रूपमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

