
पछिल्लो समय फिल्म प्रचार प्रभावकारी बनाउन निर्माण युनिट साङ्गीतिक यात्रा गर्न थालेका छन् । यस्तै आगामी १६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘आ बाट आमा’ ले पनि साङ्गीतिक यात्रा सुरु गरेको छ । निर्माण युनिटले मङ्गलवार पोखरबाट साङ्गीतिक यात्रा सुरु गरेको हो ।
साँझ ५ बजेदेखि पोखराको लेकसाइडमा फिल्मको कन्सर्ट आयोजना भएको थियो । जहाँ फिल्मका मुख्य कलाकारहरू विपना थापा, प्रदीप रावत (भारतीय अभिनेता), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्तसहित गायक करण परियारले विशेष प्रस्तुत दिए ।

पोखरापछि आज बुधबार फिल्म युनिटले चितवनमा कन्सर्ट गर्ने भने पनि मौसमको खराबीको कारण क्यान्सिल गरेको छ । माघ १५ गते (बिहीबार) काठमाडौँको गोङ्गबुस्थित सिटी स्क्वायर मलमा साङ्गीतिक कार्यक्रम राखिएको छ । तीनवटै सहरका कार्यक्रममा फिल्मका मुख्य कलाकारहरूले प्रस्तुति दिनेछन् ।
आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्मले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको छ । चन्द्र पन्तको निर्देशन रहेको फिल्ममा कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको सङ्गीत, अभिमन्यु निरवी, अमर न्यौपाने, र चन्द्र पन्तको संवाद, नवराज उप्रेतीको छायाङ्कन तथा साहिल खान र मिलन श्रेष्ठको सम्पादन छ । फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुङ्गाना निर्माताको रूपमा छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

