
मुम्बई, २३ माघ । नितेश तिवारीको निर्देशनमा बन्न लागेको फिल्म ‘रामायण’ को स्टार कास्टलाई लिएर नयाँ जानकारी सार्वजनिक भएको छ । यो फिल्ममा अब दक्षिण भारतीय फिल्मका चर्चित अभिनेता विजय सेतुपति पनि देखिने भएका छन् ।
फिल्ममा रणवीर कपुर ‘भगवान राम’ को भूमिकामा देखिनेछन् भने साउथका सुपरस्टार यश ‘रावण’ को भूमिकामा नजर आउनेछन् । हालै बाहिरिएको रिपोर्ट अनुसार, विजय सेतुपतिले फिल्ममा रावणका भाइ ‘विभीषण’ को भूमिका निभाउने भएका छन् ।

रामायणमा विभीषणको पात्रलाई सत्य र धर्मको प्रतिक मानिन्छ, जसले आफ्नै दाजु रावणको अधर्मको साथ नदिई भगवान रामलाई साथ दिएका थिए । यद्यपि, विजय सेतुपतिको यस भूमिकाबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरेको छैन ।
फिल्ममा रणवीर, यश र विजयका साथै सन्नी देओल, रवि दुबे र साई पल्लवी जस्ता दिग्गज कलाकारहरूको पनि अभिनय रहनेछ । यो फिल्मलाई प्यान इन्डिया स्तरमा रिलिज गरिनेछ । फिल्मको संगीत ओस्कार विजेता एआर रहमान र हलिउडका प्रसिद्ध संगीतकार ह्यान्स जिमरले मिलेर तयार पारिरहेका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

