
काली रानी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘पाँच पाण्डव’को छायांकन सुरु भएको छ ।
सोमबार झापाको नेपाल–भारत सीमावर्ती सहर काँकडभिट्टामा शुभ–मुहूर्त गर्दै चलचित्रले छायांकन थालेको हो ।
चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल ९बले०को मुख्य अभिनय रहनेछ । चलचित्रको शीर्षक ‘पाँच पाण्डव’ राखिए पनि यो कुनै धार्मिक वा पौराणिक कथामा आधारित भने होइन । निर्माण पक्षका अनुसार यो पूर्ण रूपमा एक ‘सोसल ड्रामा’ ९सामाजिक कथा० हो । चलचित्रमा महाभारतका पाँच पाण्डवको बिम्बलाई प्रयोग गर्दै समकालीन समाजको कथा भन्न खोजिएको छ । ‘पाँच पाण्डव’को महिला कलाकारमा दीपाश्री निरौला र जनी गुरुङ रहनेछन् ।
वसन्त निरौलाको निर्देशन रहने चलचित्रको लेखन पत्रकार सुशील पौडेलले गरेका हुन् । नवीन श्रेष्ठ प्रस्तुतकर्ता रहने चलचित्रको निर्माता काली रानी श्रेष्ठ हुन् । चलचित्रलाई श्याम तामाङले खिच्नेछन् । करिब ४० दिनको छायाकंन तालिका तय गरिएको चलचित्रको अधिकांश दृश्य झापामै खिचिने निर्माण टिमले जानकारी दिएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


