
अर्जुनधारा, ११ असार । झापाको अर्जुनधारा नगरपालिकाले उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र उत्कृष्ट नतिजा ल्याउने विद्यालयलाई सम्मान र पुरस्कृत गरेको छ ।
नगरपालिकाको सभाहालमा आज आयोजित एक कार्यक्रममा उनीहरूलाई सम्मान र पुरस्कृत गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन, विशिष्ठ अतिथि नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरूलाई सम्मानित एवं पुरस्कृत गर्नुभएको थियो।
कार्यक्रममा शैक्षिक सत्र २०८१ तथा २०८२ मा सामुदायिक विद्यालयबाट उत्कृष्ट अङ्क ल्याउने पाँच जना विद्यार्थीलाई सम्मान गरिएको छ । २०८२ सालको कक्षा-८ मा ३.८८ जीपिए ल्याउने सिंहदेवी माविका ओमविक्रम न्यौपाने र लक्ष्मी माविका हृदयेन्द्र किरण नेपाललाई सम्मान गरिएको छ।
त्यसैगरी, २०८१ सालको एसइइ परीक्षामा ४ जीपिए ल्याउने लक्ष्मी माविका आशुतोष ढुङ्गेल र २०८२ सालको एसइइमा ४ जीपिए ल्याउने शनिश्चरे माविका निश्चल खतिवडालाई सम्मान गरिएको छ ।
यस्तै, २०८१ सालको कक्षा-१२ को परीक्षामा ३.६१ जीपिए ल्याउने लक्ष्मी माविका सम्झना अधिकारी र २०८२ सालको कक्षा-१२ को परीक्षामा ३.६८ जीपिए ल्याउने शनिश्चरे माविका प्रिया सापकोटालाई सम्मान गरिएको छ ।
शैक्षिक सत्र २०८२ को कक्षा-८ को नगरस्तरीय परीक्षामा नगर उत्कृष्ट हुने ब्रिलयन्ट पिपल्स सेकेन्डरी स्कुलका सामर्थ्य पोखरेल र न्यू होप इंग्लिस सेकेन्डरी स्कुलकी आराध्य खत्रीलाई सम्मान गरिएको छ ।
कार्यक्रममा शैक्षिक सत्र २०८२ मा कक्षा-८ परीक्षामा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा ल्याउने अर्जुनधारा-११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयलाई सम्मान गरिएको छ । महारानीगञ्ज माविले कक्षा-८ को परीक्षामा ८८ प्रतिशत नतिजा हासिल गरेको थियो।
त्यस्तै, २०८२ सालको एसईई परीक्षामा ८२ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल अर्जुनधारा-६ स्थित लक्ष्मी मावि र २०८१ सालको एसइइ परीक्षामा ५९.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल अर्जुनधारा नगरपालिका-९ स्थित कालीस्थान माविलाई सम्मान गरिएको थियो।
त्यस्तै शैक्षिक सत्र २०८२ को कक्षा ८ को परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल ब्रिलयन्ट पिपल्स सेकेन्डरी स्कुल, वर्ल्ड भिजन इङ्लिस बोर्डिङ स्कुल, कालिका शिशु सदन इङ्लिस स्कुल र होलीका इङ्लिस बोर्डिङ स्कुललाई सम्मान गरिएको छ ।
नगरपालिकाका सामाजिक विकास समिति संयोजक कौशिलाल परियारको अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिबहादुर कुँवरले स्वागत गर्नुहुँदै औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।
नगरपालिकाका कर्मचारी त्रिविक्रम पोखरेलले सञ्चालन गर्नुभएको कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरु, शिक्षा समितिका सदस्य, पाठ्यक्रम निर्माण समितिका सदस्य, विज्ञ समूह, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक लगायतको बाक्लो उपस्थिति रहेको नगरपालिका प्रेस संयोजक नन्दलाल खतिवडाले जानकारी दिनुभयो ।


