झापा, १८ असार । झापाको हल्दिबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दिबारी–बिर्तामोड भित्री पक्की सडक छेउको जोतिएको खेतको हिलोमा साइकलसहित एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
बिहीबार बिहान करिब ५ः२० बजे स्थानीयवासीले खेतको हिलोमा अनुहार गाडिएको अवस्थामा एक पुरुष मृत रहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट खटिएको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

मृतक बिर्तामोड नगरपालिका–९ का ४९ वर्षीय होमप्रसाद सुवेदी रहेको खुलेको छ । मृतकलाई उनकी छोरी हाल हल्दिबारी गाउँपालिका–२ बस्ने योगमाया सुवेदी भट्टराईले पहिचान गरेकी हुन् ।
प्रहरीले घटनास्थल सुरक्षित राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ । साथै घटनाको कारण खुल्न बाँकी रहेकाले थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।



