
संसारमा धेरै यस्ता मानिसहरु छन् जो बिहान एक कप कफी नपिइकन आफ्नो दिनको सुरुवात गर्दैनन् । यी मानिसहरुका अनुसार कफीले उनीहरुको दैनिक उत्पादकत्वमा धेरै राम्रो प्रभाव पार्छ । यस्ता कैयौं अनुसन्धानहरु भएका छन् जसले कफी स्वास्थ्यको लागि राम्रो भएको तथ्य पत्ता लगाएको छ ।
दिनमा तीनदेखि चार कप कफी पिउनु स्वास्थ्यको लागि धेरै नै राम्रो हुने मानिने पोषणविद् अतुल उपाध्याय बताउँछन् । उनका अनुसार दुध र चिनी नराखी कफी पिउनु सबैभन्दा राम्रो हुन्छ ।
ठिक्क मात्रामा कफी पिउँदा ऊर्जा बढ्ने, मानसिक एकाग्रता राम्रो हुने, टाइप–२ मधुमेह, कलेजोको रोग तथा मुटुसम्बन्धी समस्याको जोखिम कम हुने गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टले शरीरका कोषहरूलाई स्वस्थ राख्न सहयोग पु¥याउँछ ।
कफीका फाइदा
ऊर्जा र सतर्कताः कफीमा पाइने क्याफिनले मस्तिष्कलाई सक्रिय बनाउँछ र अल्छीपन हटाइ ऊर्जा थप्छ ।
मधुमेहको जोखिम कमः नियमित रूपमा सीमित मात्रामा कफी पिउँदा टाइप–२ मधुमेह हुने सम्भावना घट्छ ।
कलेजोको सुरक्षाः कलेजोमा फ्याट जम्न नदिन र कलेजोको क्यान्सर वा सिरोसिसको जोखिम कम गर्न कफी सहयोगी हुन्छ ।
तौल नियन्त्रणः यसले मेटाबोलिजम बढाएर क्यालोरी जलाउन मद्दत गर्छ ।
मानसिक स्वास्थ्यः अल्जाइमर र पार्किन्सन्स जस्ता मस्तिष्कसम्बन्धी रोगहरूको जोखिम कम गर्छ ।


