
राधा लुइटेल
फिदिम, २६ भदौ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा आफ्नै श्रीमानको हत्या गरी घटनालाई आत्महत्याको रूप दिन खोजेको आरोपमा प्रहरीले मृतककी श्रीमती र छोरालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका–३, आहालेका इन्द्रकुमार नेपालीकी ४५ वर्षीया श्रीमती र उहाँका १६ वर्षीय छोरा हुनुहुन्छ । उहाँहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
गत भदौ २० गते स्थानीय ४८ वर्षीय इन्द्रकुमार दमाईको घाँटीमा सल बेरिएको अवस्थामा शव फेला परेको थियो । घटनास्थलको अवस्था र शवको प्रकृति शङ्कास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा दमाईलाई आफ्नै घरमा बन्चरो प्रहार गरी हत्या गरेपछि शव घरनजिकैको आल्चाको रुखमा सलको पासो लगाएर झुण्ड्याइएको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि घटना लुकाउन शवलाई त्यहाँबाट करिब पाँच सय मिटर तल भिरपाखामा फालिएको पाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) अनिषकुमार कर्णले बताउनुभयो ।
मृतकको शरीरका विभिन्न भाग तथा निधारमा धारिलो वस्तुले प्रहार गरेको जस्तो चोट रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा प्रयोग भएको बन्चरो र दाउ बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला अदालत पाँचथरबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । डीएसपी कर्णका अनुसार घटनाको अनुसन्धान जारी छ ।


