
विर्तामोड, ३२ असार । झापा गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय आज सार्वजनिक गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत भइसकेको संस्था ‘झापा गोल्डकप’को बचत १९ लाख रहेको मूल आयोजक समितिले बिर्तामोडमा पत्रकार सम्मेलतमार्फत् हिसाब सार्वजनिक गरेको हो ।
गत फागुन १९ देखि २८ गतेसम्म बिर्तामोडमा सञ्चालित तेस्रो संस्करणको झापा गोल्डकपबाट १८ लाख ९८ हजार ७४ रुपैयाँ बचत भएको झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले जानकारी दिए । अध्यक्ष गिरीका अनुसार गोल्डकपमा कुल १ करोड २३ लाख ५ हजार ८ सय ५० रुपैयाँ आम्दानी र १ करोड ४ लाख ७ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको थियो ।

दाताबाट समयमै रकम संकलन नभएकाले आय–व्यय सार्वजनिक गर्न ढिलाइ भएको झापा गोल्डकप मूल आयोजक समितिका वरिष्ठ उपाध्यक्ष बलराम कार्कीले बताए । तेस्रो संस्करणको झापा गोल्डकपको बचत दोस्रो संस्करणको तुलनामा कम हो । कुल १ करोड २८ लाख आम्दानी भएको दोस्रो संस्करणमा ३६ लाख ५२ हजार रुपैयाँ बचत भएको थियो ।
धमाधम खेलाडी अनुबन्ध
झापा–११ का लागि खेलाडी अनुबन्ध गर्ने कार्य अघि बढाइएको झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए । उनका अनुसार प्रत्येक खेलाडीलाई न्यूनतम मासिक २५ हजार रुपैयाँ हुने गरी २ वर्षका लागि अनुबन्ध गर्न संघसंस्थाको खोजी भइरहेको छ । ‘स्थानीय तहले पनि खेलाडी अनुबन्ध गरिदिने बचन दिएका छन्,’ झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले भने, ‘झापामा फुटबलको निकै क्रेज छ, तसर्थ झापालाई फुटबल हब बनाउने हाम्रो लक्ष्य हो ।’
स्पोन्सरको खोजी
कुनै समय लगातार प्रतियोगिताहरुको उपाधि चुमेर देश–विदेशमा ख्याती कमाएको झापा–११ अहिले प्रायोजकविहीन छ । रमपम चाउचाउसँगको सम्झौता सकिएकाले नयाँ प्रायोजकको खोजी भइरहेको झापा–११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
