
बिर्तामोड, ३ असोज । झापाको कनकाई नगरपालिका–१ स्थित प्रजापति सामुदायिक वन समूहको आयोजनामा ‘झापा जिल्ला सामुदायिक वन स्तरीय नकआउट फुटबल प्रतियोगिता’ हुने भएको छ ।
समूहले बुधबार वन हाताभित्र पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । समूहका अध्यक्ष एवम् खेल संयोजक सूर्यकुमार थापाले दशैंको उपलक्ष्यमा असोज १३ गतेदेखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

‘वनसँग युवालाई जोड्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो’, उनले भने, ‘सामुदायिक वन संरक्षणमा युवा सहभागिता बढाउन पनि प्रतियोगिता गर्न लागिएको हो ।’ प्रतियोगिताका लागि जिल्लाभरका ५९ वटा सामुदायिक वनलाई पत्रचार गरिसकिएको र कम्तिमा ३०÷३५ वटा टिमले सहभागिता जनाउने आयोजकको अनुमान छ ।
‘सामुदायिक वन, युवा र प्रतिभा हाम्रो गहना, पर्यापर्यटनमा गैंडे आहाल प्रबद्र्धन हाम्रो चाहना’ तथा ‘सामुदायिक वन युवाको मन’ लगायतका नारासहित आयोजना गर्न लागिएको प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख ११ हजार १११, द्वितीय हुनेलाई ७५ हजार ५५५ र तृतीय हुनेलाई ४१ हजार १११ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने समूहकी सचिव मेनुका श्रेष्ठले जानकारी दिइन् । प्रतियोगिताको हरेक दिन म्यान अफ द म्याचलाई १ हजार नगद र अन्तिम दिन म्यान अफ द सिरिजलाई १० हजार नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
खेल सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । टिमको प्रवेश शुल्क, दाता एवम् विभिन्न संघसंस्थाबाट सहयोग संकलन गरिने आयोजक समितिका सचिव ईश्वर सुवेदीले बताए । वन र युवालाई जोड्ने, पर्यापर्यटकीय क्षेत्र गैंडे आहालको प्रचार–प्रसार गर्ने प्रतियोगिताको मुख्य उद्देश्य रहेको प्रजापति सामाजिक क्लबका अध्यक्ष दीपेश रिमालले सुनाए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
