कनकाई, ५ असोज । झापाको कनकाई नगरपालिकामा आजदेखि ‘टिभियस प्रथम अन्तरप्रदेश स्तरीय खुल्ला क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।
कनकाई सचेत युवा क्लब र ह्वाइट वास क्रिकेट क्लब कनकाईको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा आठ वटा टीम बीच प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार उपाधिका लागि प्रतियोगितामा आयोजक ह्वाइट वास क्रिकेट क्लब, लालीगुराँस क्रिकेट क्लब, मकवानपुर क्रिकेट क्लब, युथ क्रिकेट क्लब राजविराज, युनाइटेड क्रिकेट क्लब बिर्तामोड, वाइआर सीसी क्लब विराटनगर, उदयपुर क्रिकेट एकाडेमी र खुकुरी क्रिकेट क्लब भैरहवाले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा विजेताले रू ५१ हजार र उपविजेताले रू ३१ हजार तथा ट्रफी पाउने छन् । प्रत्येक दिनको म्यान अफ द म्याचले रू २ हजार र प्रतियोगिताकै उत्कृष्ट ब्याटम्यान, विकेटकिपर, बलर र सर्वोत्कृष्ट खेलाडीले रू ५÷५ हजार प्राप्त गर्नेछन् ।
कुल रू ६ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार टिभियस मोटरसाइकल र द्वितीय पुरस्कार रुद्र–गौरी अम्बिका ओली प्रतिष्ठानले प्रदान गर्ने आयोजक समितिका सल्लाहकार हरि कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको प्रमुख सहयोगी संस्थामा कनकाई नगरपालिका रहेको छ । प्रतियोगिता कनकाई माविको खेल मैदानमा हुनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।