
सुरुङ्गा, ८ असोज । झापाको सुरुङ्गामा जारी प्रथम टिभिएस अन्तरप्रदेश टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा खेल वर्षाले विथोलिँदा खुकुरी क्रिकेट एकाडेमी भैरहवालाई फाइदा पुगेको छ । आजको जीतसँगै भैरहवा सेमिफाइनलमा प्रवेश गरेको छ ।
बर्षाले विथोलिएको खेलमा २ ओभर बाँकी छँदै खेलको नम्स अनुसार भैरहवाले उदयपुर क्रिकेट एकाडेमीलाई ३ रनले हराएको हो । पहिले टच जितेर ब्याटिङ्ग रोजेको उदयपुर क्रिकेट एकाडेमीले आफ्नो सबै विकेट गुमाउँँदै ११० रनको मध्यम स्तरको रन जोडेको थियो ।

उदयपुरका लागि राष्ट्रिय टिमका सदस्य समेत रहिसक्नुभएका सोनु अन्सारीले सर्वाधिक ३२ रनको योगदान दिनुभयो । उदयपुरका अर्का ब्याटम्यान सहिदुला अन्सारीले २२ रन जोडे पनि बाँकी खेलाडीहरुले दोहोरो अंकको रन जोड्न सक्नुभएन ।
भैरहवाका तर्फबाट अजय लोनियाले सर्वाधिक ४ विकेट लिन सफल हुनुभयो । लोनिया खेलको म्यान अफ द म्याच समेत हुनुभएको थियो । उहाँले नगद २ हजार रुपैयाँ प्राप्त गर्नुभयो । यसैगरी भैरहवाको तर्फबाट रमेश कुर्मी र मनबहादुर थापाले समान २÷२ विकेट लिनुभयो ।
यता, १११ रनको विजय लक्ष्य लिएर मैदानमा उत्रिएको भैरहवाले १८ ओभरमा ७ विकेटको क्षतिमा १०३ रन जोडेपछि वर्षाले खेल रोकिएको थियो । त्यसपछि खेल हुन नसक्दा भैरहवा खेलको नम्स अनुसार विजयी भएको हो ।
वर्षाले खेल रोकिनु अघि भैरहवाका खेलाडीहरु सन्दिप रसाइलीले ३८ तथा मिर्निल गुरुङले ३२ रन जोडनुभएको थियो । उदयपुरका खेलाडी विधान गोश्वामीले ३ विकेट लिनुभएको थियो ।
आजको खेलसँगै प्रतियोगितकाको पहिलो चरणका खेलहरु सकिएको छ । मंगलवार प्रतियोगिताको पहिलो सेमिफाइनल खेल आयोजक ह्वाइट वास क्रिकेट क्लव सुरुङ्गा र युथ क्रिकेट एकाडेमी राजविराज बीच हुने आयोजक समितिका अध्यक्ष निशेष ओलीले बताउनुभयो । कनकाई सचेत युवा क्लब र ह्वाइट वास क्रिकेट क्लबको संयुक्त आयोजनामा स्थानीय कनकाई माविको खेल मैदानमा भइरहेको क्रिकेट प्रतियोगितको विजयी तथा उपविजयी हुने टिमले नगद ५१ हजार र ३१ हजार तथा ट्रफी पाउनेछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
