
शान्तिनगर, ९ असोज । प्रतिभा युवा क्लब चारआली झापाको बुद्धशान्ति गाउँपालिका–७ धारागोलामा जारी प्रथम धारागोला भ्यूटावर गोल्डकप नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेको छ ।
सोमबार धारागोला खेल मैदानमा सम्पन्न खेलमा शनिश्चरे युवा क्लबलाई १÷० गोल अन्तरले पराजित गर्दे चारआलीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

निक्कै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५ औ मिनेटमा चारआलीका जमिन लक्समले डिबक्स एरियाबाट प्रहार गरेको बल शनिश्चरेको डिफेन्सको खुट्टामा लागेर अनगोल भएको थियो । सोही अनगोलको मदतमा चारआली क्वाटरफाइनलमा प्रबेश गरेको हो ।
सोमबारको खेलको म्यान अफ द म्याच बिजयी टिमका प्रसान्त लक्सम घोषित भए । उनलाई स्वर्गीय रबिन्द्रमाया लावतीको स्मृतिमा प्रायोजित नगद पुरस्कार आयोजक समितिका स–सचिब राजकुमार लावतीले प्रदान गरे । मंगलबारको खेलमा युनिटी युथ क्लब बर्ने र खुदुनाबारी युवा क्लबवीच प्रतिस्पर्धा हुने आयोजक समितिका सचिब शष्टकुमार राईले जानकारी दिए । खेल दिउँसो ३ः०० बजेबाट शुरु हुनेछ ।
पछिल्लो समय चर्चामा रहेको प्रमुख पर्यटकिय स्थल धारागोला भ्यू–टावरको प्रचार÷प्रसार र आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय स्तरबाट राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने उद्धेश्यले सो प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका अध्यक्ष धनमान लिम्बुले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद ३० हजार, ट्रफि, प्रमाण पत्र र उपबिजेताले नगद २० हजार, ट्रफि, प्रमाण–पत्र प्राप्त गर्नेछ । असोज ३ गते देखि १८ गतेसम्म आयोजित प्रतियोगितामा झापा र इलामका गरि १६ वटा टोलीको सहभागिता छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
