
सान नेपाल
गौरादह, २७ असोज । गौरादह ७ ग्वालडुब्बा स्थित खेलकुद विकास समितिले बडादशैंको अवसरमा विविध कार्यक्रमहरु सञ्चालन गरेको छ ।
समितिले रक्तदान तथा वार्ड नं. ७ को टोल विकास स्तरिय महिला हाजिरि जवाफ प्रतियोगिता सम्पन्न गरेको हो । शनिबार देखि ३० गते सम्म वडा स्तरिय भलिबल प्रतियोगिता आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ७ महिला सहित ३३ जनाले रक्तदान गरेका थिए । सोही स्थानमा १५ दिन पहिले रक्तदान कार्यक्रम सञ्चालन गरिएकाले यस पटक रक्तदान गर्ने संख्यामा कमि आएको रक्तदानमा सहभागी महिला जनप्रतिनिधि यशोदा दाहाल जानकारी गराईन् ।

रक्तदान कार्यक्रममा संकलित ३३ प्रिन्ट रगत आजै नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको कार्यालयमा जम्मा गरिएको छ । खेलकुद विकास समितिले आयोजना गरेको टोल विकास स्तरिय विवाहित महिला हाजिरी जवाफ प्रतियोगितामा दश वटा टोल विकास समितिहरु सहभागी भएका थिए । सहभागी टोलीहरुमा दुधाली टोल विकास समिति ११ अंक सहित प्रथम, फकेरढीप टोल विकास समिति ९ अंक सहित दोस्रो, ठकठके र जामवाडी टोल विकास समिति ७ अंक सहित तेस्रो भएका थिए । विजेता टोलीहरुलाई ३० गते भलिबलको फाइनल खेल सम्पन्न पछि पुरस्कार वितरण गरिने आयोजक समितिका अध्यक्ष राजेश राईले जानकारी गराए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
