
शनिश्चरे, १५ कात्तिक । विवेचना दैनिकको २६औँ वार्षिकोत्सवको अवसरमा आयोजित झापा मिडिया कपको दोस्रो संस्करण बिहीबारदेखि सुरु भएको छ ।
अर्जुनधारा ११ स्थित झापा जिल्ला फुटबल संघको ग्रासरुट फुटबल मैदानमा आयोजित फुटबल प्रतियोगिताको सेमी समिकरण पनि पूरा भएको छ । अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले उद्घाटन गरेको पहिलो खेलमा विवेचना दैनिकले आम सञ्चार डटकमलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश पायो । खेलको म्यान अफ दी म्याच दिपेश मगरलाई फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’ले नगद १ हजारसहित ट्रफी प्रदान गरे ।

दोस्रो खेलमा सप्तरंगी एफएमलाई सडन डेथमा पराजित गर्दै सनराइज एफएम सेमिफाइनलमा प्रवेश गरेको छ । खेलमा ५–४ गोलबाट पराजित गरेको सप्तरंगीका असिम राई म्यान अफ दी म्याच बने भने उनलाई झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङले नगदसहित ट्रफी प्रदान गरे । तेस्रो खेलमा मेची टाइम्स दैनिकलाई १–० नतिजाको कठिन जीत दर्ता गर्दै जनसंसद् र लोकतन्त्र पोष्ट दैनिकको संयुक्त टिम सेमिफाइनलमा पुगेको छ । जीतका लागि सन्दीप माझीले निर्णायक गोल गरे । उनलाई पूर्व शिक्षक हस्त परियारले नगद र ट्रफी प्रदान गरे ।
अन्तिम खेलमा नेशनल मिडिया ग्रुपलाई फराकिलो नतिजाबाट पाखा लगाउँदै मेरो रेडियो र यलम्बर टाइम्स साप्ताहिकको संयुक्त टोली सेमिफाइनलमा प्रवेश गर्यो । संयुक्त टोलीका लागि सञ्जय भण्डारी एक्लैले ५ गोल गरे भने दिपेन्द्र दनुवारले १ गोल मद्दत गरे । नेशनल मिडिया ग्रुपका तर्फबाट अमृत खड्काले सान्त्वना गोल फर्काए । खेलको म्यान अफ दी म्याच पत्रकार महिला भूमिका सुब्बा घोषित भइन् । उनलाई नेपाल आदिवासी जनजाति महासंघ अर्जुनधाराका अध्यक्ष जगत रानामगरले नगद र ट्रफी प्रदान गरे ।
शुक्रबार मेरो रेडियो र यलम्बर टाइम्सले सनराइज एफएमसँग पहिलो सेमिफाइनल र विवेचना दैनिकले जनसंसद् र लोकतन्त्र पोष्टको टिमसँग अन्तिम सेमिफाइनल खेल खेल्नेछ । प्रतियोगिताको विजेताले नगद ३१ हजार, उपविजेताले नगद १५ हजारसहित ट्रफी पाउने खेल संयोजक रमेश समदर्शी राईले जानकारी दिए ।
विवेचना दैनिकका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रबन्ध निर्देशक सुमन शर्मा जम्मरकट्टेलले स्वागत गरेका थिए । त्यस्तै, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, फुटबल संघका अध्यक्ष आलेलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
