
बुधबारे, १ मंसिर । झापाको बुद्धशान्ति– ३ बुधबारेमा आगामी सोमबारबाट प्रदेश नम्बर १ स्तरीय भलिवल प्रतियोगिता हुने भएको छ ।
राष्ट्रिय युवा समाज बुद्धशान्तिको आयोजना तथा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य प्रायोजन र झापा जिल्ला भलिबल संघको प्राविधिक सहयोग प्रतियोगिता हुन लागेको प्रतियोगिता मुल आयोजक समितिका संयोजक सन्तोष कुमार ढकालले जानकारी दिए ।

प्रतियोगितामा आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति सहित झापा, मोरङ, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजङ, नेपाल प्रहरी, शसस्त्र प्रहरी र धनकुटा गरी १० टोलीको सहभागिता रहने आयोजकका प्रचार संयोजक अनिल वाग्लले बताए ।
प्रतियोगिताको विजेताले नगद १ लाख सहित ट्रफि उपविजेताले ५० हजार सहित ट्रफी पाउने छन् भने प्रतियोगितामा तेस्रो हुने टिमले पनि नगद २५ हजार पाउने आर्थिक उपसमिति संयोजक प्रेम नेम्बाङले बताए ।
उनले झापाकै प्रतिष्ठासँग जोडिएको प्रतियोगिता भएकाले सबै मिलेर भव्यरुपमा सम्पन्न गर्नुपर्ने बताएका छन् । १२ लाख ६५ हजारको अनुमानित लागतमा हुन लागेको प्रतियोगितालाई व्यवस्थित र भव्य बनाउन ५१ सदस्यीय मूल आयोजक समिति बनाएर विभिन्न उपसमिति समेत गठन गरि कार्य अगाडी बढाइएको आयोजक समितिका संयोजक ढकालले बताए ।
हालसम्म ८ लाख हाराहारीमा रकम संकलन भएको नेम्बाङको भनाई छ । प्रतियोगिताबाट आएको मुनाफाले बुधबारे बजारमा सिसि क्यामरा जडान गरिने र राष्ट्रिय युवा समाजले सञ्चालनमा ल्याएको पुस्तकालयको स्तरउन्नती गरिने बताइएको छ ।
बुद्धशान्ति ३ स्थित बुधबारे तल्लो चोकमा हुनलागेको प्रतियोगिताको खेल मैदान स्तरउन्नतीको कार्य सहित तयारीको काम अन्तिम चरणमा पुगेको प्रचार संयोजक वाग्लेले बताए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
