
भद्रपुर, ४ मंसिर । मिक्स मार्सल आर्टअन्तर्गत अन्तर्राष्ट्रियस्तरको वक्सिङ प्रतियोगितामा भाग लिन भारतको दिल्ली जान लागेका भद्रपुरका एकजना खेलाडीलाई सोमबार भद्रपुरमा विदाइ गरिएको छ ।
नेपालको प्रतिनिधित्व गर्दै भारत जान लागेका भद्रपुर–६ निवासी २० वर्षीय सुभम मल्लिकलाई भद्रपुर नगरपालिका र झापा जिल्ला वक्सिङ संघले संयुक्त रुपमा स्वागत–सम्मानसहित विदाइ गरेको हो ।

नगरपालिकाको सभाहलमा आयोजित संक्षिप्त समारोहका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, झापा जिल्ला वक्सिङ संघका अध्यक्ष सञ्जीव घोष, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ, वक्सिङका प्रशिक्षक डम्बर लिम्बूलगायतले मल्लिकलाई फूलमाला अविर पहिर्याएर जीतको शुभकामनासहित विदाइ गरेका थिए ।
मल्लिकले दिल्लीमा आयोजना हुने एमएमए प्रतियोगितामा ६४ केजी तौल समूहमा अफगानिस्तानका खेलाडीसँग प्रतिस्पर्धा गर्ने झापा जिल्ला वक्सिङ संघका अध्यक्ष घोषले जानकारी दिए । त्यहाँ वक्सिङमा नेपालभन्दा बलियो मानिएको अफगानिस्ताका खेलाडीलाई मल्लिकले पराजित गर्न सके भने नेपालकै वक्सिङको स्तर माथि उठ्ने पनि घोषले बताए ।
सोही कार्यक्रमका बीच राष्ट्रियस्तरको वक्सिङ प्रतियोगितामा भाग लिन काठमाडौं जान लागेका भद्रपुरका धनेन्द्र राई र रोहन मल्लिकलाई पनि विदाइ गरिएको थियो ।
पछिल्लो समयमा वक्सिङमा झापाले उल्लेख्य सफलता हात पार्दै आएको छ । अघिल्लो वर्ष मेची रंगशालामा भएको राष्ट्रिय वक्सिङ प्रतियोगितामा झापाले विभागीय टोलीका खेलाडीहरसमेतलाई पछि पारेर उत्कृष्टता हासिल गरेको संघका अध्यक्ष घोषले बताए । उनले मल्लिक उत्कृष्ट वक्सिङ खेलाडी भएकोले दिल्लीमा विजयी हुने विश्वास व्यक्त गरे । मल्लिकलाई प्रतियोगितामा सहभागिताका लागि आवश्यक आर्थिक व्यवस्थापन भद्रपुर नगरपालिका र संघका अध्यक्ष घोषले मिलाइदिएका छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
