
बुधबारे, ५ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकामा मंसिर ३ गतेदेखि जारी ‘एनएमसी बुद्धशान्ति कप’ प्रदेश नम्बर १ स्तरीय नकआउट पुरुष भलिवल प्रतियोगिताको उपाधि भीडन्त आज हुँदैछ ।
हिजो भएको पहिलो सेमीफाइनल खेलमा संखुवासभालाई सोझो सेटमा हराउँदै आयोजक राष्ट्रिय युवा समाज बुद्धशान्ति फाइनलमा प्रवेश गरेको छ । ताप्लेजुङलाई ३–२ को सेटमा पाखा लगाउँदै सेमीफाइनल प्रवेश गरेको संखुवासभा आयोजकसँग स्तव्ध भयो ।

प्रदेश नम्बर १ भित्रका दुई विभागिय टीम सहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको दोस्रो सेमीफाइनल खेलमा नेपाल प्रहरी र भोजपुरले समान २÷२ सेट जितेपनि अन्तिम सेटको खेल खेलाउन समय अभाव भएपछि बुधबार विहान ७ बजे पुनः खेलाइने आयोजकका अनिल वाग्लेले जनाएका छन् । भोजपुरले झापालाई ३÷२ को सेटमा पाखा लगाउँदै सेमीफाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगिताको विजेताले नगद एक लाख सहित ट्रफि पाउने छ भने उपविजेताले नगद ५० हजार पाउनेछ । तेस्रो हुने टिमले नगद २५ हजार पाउने छ । तेस्रो स्थानका लागि विहान १० बजे र फाइनल खेल दिउँदो १ बजे हुने आयोजकले जनाएको छ । सेमीफाइनल खेलमा आयोजकका विमान खड्का म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा नेपाल बहुउदेश्यीय सहकारी संस्थाले मुख्य प्रायोजन गरेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
