
बनियानी, ९ मङ्सिर । झापामै ‘पहिलो पटक’ भद्रपुर–५ स्थित मेची नदी किनार ‘बिच भलिबल’ (बालुवामा खेलिने भलिबल) प्रतियोगिता हुने भएको छ ।
भद्रपुर वडा नं. ५ को आयोजनामा पुष ५ गतेदेखि ‘भद्रपुर मेची रिभर साइड भलिबल प्रतियोगिता’ हुन लागेको हो । भद्रपुर नगरपालिकाको सभाहलमा आज आयोजित पत्रकार सम्मेलनमा आयोजक वडा नं. ५ का वडाध्यक्ष बन्धु कार्कीले नगरमा खेलकुद क्षेत्रको विकाससँगै पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको बताउनुभयो ।

‘वडा नं. ५ मेची किनारै किनार भएको वडा हो’, उहाँले भन्नुभयो, ‘विदेशमा नदीको किनारलाई उपयोग गरेर धेरै आम्दानी लिइरहेका छन्, हामीले पनि मेची किनारको बगरलाई उपयोग गर्न सके धेरै सम्भावना छ ।’ उहाँले जिल्लामा भलिबल प्रतियोगिता भइरहे पनि नदी किनारको बालुवामा गरिएको यो सम्भवत पहिलो भएको बताउनुभयो ।
भद्रपुर नगरपलिकाकी उपप्रमुख चन्द्रा श्रेष्ठले यस प्रकारको प्रतियोगिताले नगरलाई जीवन्त राख्न मद्दत पुग्ने बताउनुभयो । ‘नदी किनारमा गर्न लागिएको भलिबल प्रतियोगिता नयाँ खालको कार्यक्रम हो’, उहाँले भन्नुभयो, ‘वडाले प्रतियोगिता आयोजना गर्न लागे पनि नगरपालिका कार्यालयको भरपुर साथ र सहयोग रहने छ ।’
प्रतियोगितामा भद्रपुर नगरपालिकाको १० वटै वडा सहभागिता रहने छ भने प्रतियोगिता सम्पन्न गर्न रू २ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रू २५ हजार, द्वितीयले रू १५ र तृतीयले रू ८ हजार प्राप्त गर्ने जनाइएको छ ।
कार्यक्रममा बरिष्ठ पत्रकार नकूल काजी, झापा उद्योग संघका अध्यक्ष टीकाराज ढकाल लगायतले सुझावसहितको मन्तव्य राख्नुभएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
