
बुधबारे, १५ मंसिर । झापाको बुद्धशान्ति–१ मा रहेको भोटेटार खेलकुद विकास समितिको आयोजनामा शनिबारदेखि प्रथम भोटेटार क्लब स्तरीय नकआउट फुटबल प्रतियोगिता शुरु भएको छ ।
उद्घाटन खेलमा आयोजक भोटेटार खेलकुद विकास समिति धारागोला फुटबल क्लबलाई ६–१ ले हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । आयोजकका विकेस लिम्बु र राजकुमार कन्दङ्वाले ह्याट्रिक गरे भने धारागोलाका सरोज कार्कीले सान्त्वना गोल गरे । प्रतियोगितामा विकेस लिम्बु म्यान अफ द म्याच घोषित भए ।


समितिका अध्यक्ष कमल मुखियाको सभापतित्व तथा बुद्धशान्ति एकका वडाध्यक्ष भीमकुमार नेवारको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो । प्रतियोगितामा कुटिडाँडा क्लब, धारागोला क्लब, खुदुनाबारी क्लब, आदर्श युवा क्लब, कालीस्थान क्लब, नवज्योति क्लब जयपुर, धाइजन क्लब र आयोजक टिम सहभागी छन् । झापा र इलामका ८ टिम सहभागी प्रतियोगिताको फाइनल खेल मंसिर २२ गते हुने आयोजकका गजुहाङ योङहाङले जनाएका छन् । प्रतियोगिता भोटेटारको खेल मैदानमा भईरहेको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
