
मेचीनगर, २२ मंसिर । आसन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि शुक्रबार फुटबल, भलिबल, बक्सिङ र भारोत्तोलनका खेलाडी छनोट गरिएको छ ।
भद्रपुरस्थित मेची रंगशाला, कर्भड हल र कन्काई मावि सुरुङ्गामा आयोजित जिल्लास्तरीय छनोट प्रतियोगिताबाट तीनवटा खेल विधामा झापाका खेलाडी छनोट गरिएको हो ।

मेची रंगशालामा भएको छनोटमा फुटबलको पुरुषतर्फ ७० जनाले भाग लिएकामा १६ जना खेलाडी छानिएका छनोट समिति संयोजक भगिरथ आले ‘मामा’ ले जानकारी दिए ।
कन्काई मावि सुरुङ्गामा भएको भलिबलको पुरुषतर्फ ३६ जनाले भाग लिएकामा १० र महिलातर्फ २५ जनाले प्रतिस्पर्धा गरेकामा १० जना छानिएका छनोट समिति संयोजक गजेन्द्र ताम्लिङले बताए ।
मेची रंगशालाको कर्भड हलमा भएको बक्सिङ पुरुषतर्फ १८ जनाले भाग लिएकामा १० र महिलातर्फ १० जनाले सहभागिता जनाएकामा ६ जना छानिएका छनोट समिति संयोजक डम्बर लिम्बूले जानकारी दिए ।
त्यस्तै भारोत्तोलनको महिलातर्फ ४९ केजी तौल समूहमा करिना चौधरी र ४५ केजीमा राधा भूजेल तथा पुरुषतर्फ ६१ केजी तौल समूहमा कार्तिक मुखिया र ७३ केजीमा सुलभ बस्नेत छानिएका छनोट समिति संयोजक मित्र साम्पाङले बताए ।
जिल्लास्तरीय छनोटबाट छानिएका खेलाडीहरुले एक नम्बर प्रदेशस्तरीय प्रतियोगितामा भाग लिने र सो प्रतियोगितामा छानिने खेलाडीले राष्ट्रिय प्रतियोगितामा प्रतिष्पर्धा गर्नेछन् ।
राष्ट्रिय खेलकुद परिषद्ले यस पटक प्रदेश नम्बर ५ का विभिन्न स्थानमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्दैछ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
