नवलपरासी पश्चिम, २१ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित झरहीखोलामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ।
महेशपुर–भुजहवा भित्री सडकखण्डको मोडमा शुक्रबार बिहान लु ४७ प ४८७९ नम्बरको मोटरसाइकललाई लु २ ख ६५४ नम्बरको बसले ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) विरदत्त पन्तले जानकारी दिए।



दुर्घटनामा परी प्रतापपुर गाउँपालिका–४ पाचपेडाका २१ वर्षीय भोला राजभर र रामग्राम नगरपालिका–१५ डिगौलका १८ वर्षीय राहुल राजभर गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न बससहित चालक रामग्राम इमिलिटोलका ३१ वर्षीय सद्दाम अली अन्सारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


