अर्जुनधारा, २२ असार । झापाको अर्जुनधारा नगरपालिकाले अपाङ्गता भएका परिवारको जीविकोपार्जनका लागि ओभरकल मेसिन (सिलाई सम्बन्धी मेसिन) प्रदान गरेको छ ।
नगरपालिका परिसरमा आज एक संक्षिप्त कार्यक्रमका बीच अर्जुनधारा नगरपालिकाकी टिका तामाङ मिश्रको परिवारलाई ओभरलक मेसिन प्रदान गरिएको हो । नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङ, उपप्रमुख खड्ग माया पराजुली, अर्जुनधारा ६ का वडाध्यक्ष हरिश बास्तोला लगायतले मेसिन हस्तान्तरण गर्नुभयो ।
मेसिन हस्तान्तरण गर्नुहुँदै प्रमुख गोम्देनले प्राप्त मेसिनको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । सरकारले मेसिन दियो भनेर थन्क्याएर राख्ने काम नगरी प्रयोग गरेर परिवारको जीविकोपार्जनमा योगदान पुर्याउन उहाँले जोड दिनुभयो ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, अर्जुनधारा नगरपालिका तथा करुणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिका परिवारको जीविकोपार्जनमा सुधार कार्यक्रम अन्तर्गत सीपमूलक र व्यवसायिक तालिम शीर्षकबाट ५०% लागत साझेदारीमा मेसिन प्रदान गरिएको अर्जुनधारा नगरपालिकाका प्रेस संयोजक आकाश खतिवडाले जानकारी दिनुभयो ।
ओभरकल मेसिनको मूल्य ७५ हजार रुपैयाँ रहेको छ । जसको ५० प्रतिशत लागत सहभागिता लाभग्राहीको रहेको छ ।


