कञ्चनपुर, २३ असार । वर्षायामको सुरुवातसँगै कञ्चनपुरका थारु समुदायको भान्सामा विशेष स्थान ओगट्ने फुटकी च्याउ अब स्वादभन्दा पनि सम्झनामा सीमित बन्न थालेको छ।
सालका वन क्षेत्रमा डढेलो लागेको वर्ष प्रशस्तै पाइने यो मौसमी च्याउ अहिले दुर्लभ बन्दै गएको छ। स्थानीय हवलदार चौधरीका अनुसार, “वर्षात सुरु भएपछि महिला र बालबालिकाको हुल वनतिर लाग्थ्यो, तर अहिले त्यो दृश्य विरलै देखिन्छ।”
वन प्रवेशमा कडाइ, जलवायु परिवर्तन र मानवीय चापका कारण फुटकी लोपोन्मुख अवस्थामा पुगेको छ। सामुदायिक वनमा अनुमति आवश्यक र निकुञ्ज क्षेत्रमा प्रवेश निषेध हुँदा लुकीचोरी जानेले समेत च्याउ भेट्न छाडेका छन्।
स्थानीय भाषामा ‘पटपुरा’ भनिने फुटकी थारु समुदायमा झोलयुक्त तरकारीदेखि अचार, सेकुवा, भुटुवा, सुकुटी, कपुवा आदि परिकारमा प्रयोग गरिन्छ। गहुँ वा चामलको पिठोमा मिसाएर पकाइने कपुवा विशेष लोकप्रिय छ।
थारु समुदायमा कुन च्याउ खान योग्य छ भन्ने ज्ञान पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको छ। बजारमा अभाव हुँदा फुटकीको मूल्य प्रतिकिलो रु ४०० देखि रु १३०० सम्म पुगेको छ।
थारु अगुवा परदेशी चौधरीका अनुसार, फुटकी ‘फङ्गस’ वर्गको च्याउ हो, जसमा प्रोटिन प्रचुर मात्रामा पाइन्छ र पचाउन सजिलो हुन्छ। ‘जलेवा’ (सेतो) र ‘भोटैल’ (कालो/खैरो) गरी दुई प्रकार चिनिन्छन्।
“फुटकी च्याउ केवल मौसमी परिकार होइन, थारु समुदायको संस्कृतिसँग गाँसिएको जीवनशैलीको अभिन्न अंश हो,” अगुवा रेवन चौधरीले बताए, “यसको संरक्षण अपरिहार्य छ।”


