
बिर्तामोड, २३ असार । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ३ स्थित लिङ्कन मन्टेश्वरी स्कुलका बालबालिकाको निःशुल्क दन्त परीक्षण गरिएको छ ।
लोक स्वास्थ्य डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा आज लिङ्क स्कुलले मन्टेश्वरीमा अध्ययनरत सबै बालबालिकाको दन्त परीक्षण गरेको विद्यालयका सञ्चालक सरोज पौडेलले बताउनुभयो । अधिकांश बालबालिकामा दाँतको समस्या देखिने भएकाले समयमै समस्याको पहिचान गरी उपचार गर्ने उद्देश्यले दन्त परीक्षण गरिएको सञ्चालक पौडेलले बताउनुभयो ।
स्कुलमा पढ्ने प्ले ग्रुपदेखि युकेजीसम्म सबै बालबालिकाको दन्त परीक्षण गरिएको छ । लोक स्वास्थ्य डेन्टल क्लिनिककी दन्त चिकित्सक डा. आस्मा भट्टराईले नेतृत्वको टोली बालबालिकाको दाँत परीक्षण गरेको थियो ।
डाक्टर भट्टराईले बालबालिकामा देखिएको दाँतको समस्याका बारेमा उनीहरूको अभिभावकलाई जानकारी गराउनु भएको थियो । बालबालिकामा देखिएको दाँतको समस्यालाई बेलैमा पहिचान गरेर उपचार गर्नुपर्ने उहाँले बताउनुभयो ।
निःशुल्क दन्त शिविरमा डेन्टल असिस्टेन्ट बिनीता तामाङ र लोक स्वास्थ्य डेन्टलका व्यवस्थापकले पंकज प्रसाईंले सहजीकरण गर्नुभएको थियो । स्कुलमा अध्ययनरत बालबालिकाका अभिभावकसमेत दन्त परीक्षणमा सहभागी हुनुभएको थियो ।


