
कनकाई, २३ असार । झापाको कनकाईका ६२ जना युवालाई नि:शुल्क प्रोफेशनल आईटी एण्ड कम्प्युटर ट्रेनिङ्ग कोर्स प्रदान गरिएको छ ।
कनकाई नगरपालिका- ७ को आर्थिक सहयोगमा कनकाई पोलिटेक्निकल ईन्स्टिच्युट दुर्गापुरमा उनीहरूलाई प्रोफेशनल आईटी तालिम दिइएको हो । गत बैशाख २० गतेबाट सुरु गरिएको कम्प्युट सम्बन्धि विभिन्न सिकाईसहित सिसि क्यामेरा जडानदेखि मर्मत, फोटोकपी मिसिन मर्मत लगायतका सीप सिकाइएको कनकाई ७ का वडा अध्यक्ष भिष्म भुषण सिटौलाले जानकारी दिनुभयो ।


तालिममा २५ जना छात्रा र ३७ जना छात्र गरी ६२ जनाले छात्र-छात्राले ट्रेनिङ्ग लिएका छन् । उनीहरूलाई कम्प्युटर सम्बन्धि सागर अधिकारी, नेटवर्किङ सम्बन्धि भेसराज लामिछाने र ईलेक्ट्रीकल्स सम्बन्धि तालिम प्रशिक्षकमा रमेशकुमार घिमिरे प्रदान गर्नुभएको थियो।
तालिम समापनको अवसरमा आज आयोजित कार्यक्रममा वडा अध्यक्ष सिटौलाले वडामा थोरै बजेट भए पनि धेरैलाई अवसर समेत दिएको बताउनुभयो। परीक्षा नै लिएर प्रमाणपत्र उपलब्ध गराएको बताउनु हुँदै उहाँले ६२ जनामध्ये २ जना उत्कृष्टलाई रोजाईको समेत ग्यारेन्टी लिएको बताउनुभएको छ ।
त्यस्तै, कनकाई पोलिटेक्निकल इन्स्टिच्युटका प्रिन्सिपल खगेन्द्र मिश्रले पूर्ण रुपमा स्थानीय तहको स्वामित्वमा सञ्चालित पोलिटेक्निकल ईन्स्टिच्युटमा प्राविधिक ज्ञान लिनेको आकर्षण बढ्दै अहिले ३ सय भन्दा बढी विद्यार्थीले विभिन्न विधाका कक्षाहरु सञ्चालन भइरहेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण पनि प्रिन्सिपल खगेन्द्र मिश्रले नै गर्नुभएको थियो ।

