झापा, २३ असार । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल नजिकबाट एक युवकलाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल झापा शिवसताक्षी नगरपालिका–८ बसोबास गर्दै आएका २५ वर्षीय जितेन्द्र आङ्देम्बे रहेका छन् । उनी भारतको पानीट्याङ्कीबाट सिटिसफारीमा सवार भई नेपाल प्रवेश गर्ने क्रममा शंकास्पद देखिएपछि प्रहरीले शारीरिक तलासी लिएको थियो ।
तलासीका क्रममा आङ्देम्बेको मलद्वारबाट निलो रङको प्लास्टिकमा बेरिएको पोका फेला परेको थियो। उक्त पोकामा लिसिलो पदार्थ देखिएपछि परीक्षण गर्दा त्यो खैरो हेरोइन भएको पुष्टि भएको प्रहरीले जनाएको छ। डिजिटल तराजुमा नापतौल गर्दा प्लास्टिकसहित उक्त पदार्थको तौल २ ग्राम ६३० मिलिग्राम र प्लास्टिक हटाउँदा २ ग्राम ८ मिलिग्राम रहेको थियो । प्रहरीले उनलाई लागुऔषधसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।


