
हल्दीबारी, २३ असार । झापाको हल्दीबारी गाउँपालिकाले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा हल्दीबारी–४ मङ्गलबारे बजारका तीन किराना पसलमा म्याद गुज्रिएका तथा अखाद्य वस्तु फेला परेका छन् ।
राजवंशी किराना पसल, खरेल किराना पसल र अल पसलमा म्याद गुज्रेका सामग्री भेटिएपछि पसल धनीलाई पहिलोचोटि चेतावनी दिँदै तीन दिनभित्र सबै अखाद्य वस्तु हटाउन निर्देशन दिएको छ ।
गाउँपालिकाले आजदेखि बजार अनुगमन सुरु गरेको हो । गोलधाप बजार, बडाबारी बजार, कञ्चनश्री बजार, ढडुवा बजार, पाराखोपी बजार र स्कुलचोक बजार समेतका पसलहरूको पनि क्रमशः अनुगमन गरिने प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले जानकारी दिनुभयो ।

आजको अनुगमनमा २० भन्दा बढी पसल जाँच गरिएको थियो । केही पसलहरू बिना कागजपत्र सञ्चालनमा रहेको पाइएको छ भने अनुगमन टोली आएको थाहा पाउनासाथ केही पसलधनी पसल बन्द गरी भागेका थिए ।
पसलहरूलाई मूल्यसूची, होल्डिङ बोर्ड, बिल–रसिद र अन्य आवश्यक कागजात १५ दिनभित्र गाउँपालिकामा बुझाउन निर्देशन दिइएको छ । अनुगमन टोलीले मंगलबारे बजार क्षेत्रका किराना, हार्डवेयर, कपडा, खाजा घर, मासु पसलहरू, कपडा पसलहरू, सैलुन लगायतका पसलको अनुगमन गरी आवश्यक सुधारका लागि निर्देशन दिएको छ ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीको नेतृत्वमा भएको अनुगमन टोलीमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, सुरक्षाकर्मी, स्थानीय उद्योग वाणिज्य संघका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो ।



