झापा, २४ असार । दमक नगरपालिका–३ मा निर्माणाधीन १८ तले भ्यु टावर परियोजनामा सार्वजनिक जग्गा निजी कम्पनीलाई अनियमित रूपमा दिइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।
दमक–५ का सञ्चारकर्मी तथा स्थानीय नागरिक अबिन मेयाङ्ग्वोले टंगालस्थित अख्तियार कार्यालयमा उजुरी दर्ता गराउँदै तत्काल छानबिनको माग गरेका हुन्। उनका अनुसार, ‘माँ पञ्चकन्या हाउजिङ प्रा।लि।’ नामक कम्पनीलाई सार्वजनिक प्रयोजनको नाममा नगरपालिकाले २०७३ सालतिर करिब ४ विघा १८ कट्ठा ७ धुर जग्गा प्रदान गरेको थियो।
यद्यपि अहिले कम्पनीले दुई विघा सापटी लिएको दाबी गर्दै फिर्ता माग गरेको र बाँकी २५ कट्ठा वापत क्षतिपूर्ति माग गरिरहेको उजुरीमा उल्लेख छ। मेयाङ्ग्वोले कुनै औपचारिक प्रक्रिया वा स्वीकृत मापदण्ड बिना जग्गा प्रदान गरिएको भन्दै कम्पनीले सो जग्गा प्लटिङ गरी बेच्ने प्रयास गरिरहेको र नगरपालिकालाई बजार मूल्यमा क्षतिपूर्तिका लागि दबाब दिएको दाबी गरेका छन्।
उनले नगरपालिका र कम्पनीबीच कुनै आधिकारिक सम्झौता फेला नपरेको तर कम्पनीले २०७५ सालमा मौद्रिक सम्झौता भएको भन्दै धम्कीपूर्ण ढंगले स्वामित्वको दाबी गरिरहेको उल्लेख गरेका छन्। सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भन्दै उनले तत्काल कागजात संकलन गरी छानबिन गर्न अख्तियारसमक्ष माग गरेका छन्।


