झापा, २४ असार । धनुषाको हँसपुर नगरपालिकाको सार्वजनिक सम्पत्तिमा ५२ लाख ७२ हजार रुपैयाँभन्दा बढी हिनामिना गरिएको आरोपमा तत्कालीन उपप्रमुख रेणु देवी झा, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलसहित ९ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा देव कन्स्ट्रक्सन र सम्बन्धित पदाधिकारीहरूविरुद्ध मुद्दा दायर गरेको हो। आयोगका अनुसार सुगा निकासदेखि कट्टी चोकसम्मको पीसीसी ढलान योजना टुक्र्याएर रकम भुक्तानी गर्ने, नापी विवरणमा त्रुटि गर्ने तथा तोकिएको भन्दा बढी भुक्तानी दिने कार्यमार्फत हानिनोक्सानी गरिएको हो।
२०७६–०७७ को नगरसभा निर्णयअनुसार एक करोड रुपैयाँ विनियोजन भएको उक्त योजनाको लागत अनुमान १ करोड ४८ लाख ४१ हजार रुपैयाँ पार्दै कर कटौतीपछि सम्झौता ९५ लाख २७ हजारमा भएको थियो। तर स्थलगत नापजाँचमा उल्लेखित लम्बाइभन्दा कम काम सम्पन्न भएको, झुटा कितावमार्फत ७ लाख ८१ हजार रुपैयाँभन्दा बढी भुक्तानी दिइएको देखिएको छ।
यस्तै म्याद थप गर्दा कार्यसम्पादन जमानत नलिई सम्झौता गर्नाले २८ लाख ४० हजार रुपैयाँ र पेश्की वापतको बैंक जमानत बिना १६ लाख ५० हजार रुपैयाँ असुल नगरी सम्झौता अन्त्य गरिएको आयोगको ठहर छ।
अख्तियारले प्रतिवादीहरूले आपसी मिलोमतोमा नगरपालिकाको नाममा रहेका सार्वजनिक स्रोतको दुरुपयोग गर्दै भ्रष्टाचार गरेको स्पष्ट पारेको छ।


