शिवसताक्षी, २४ आषाढ । नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले मृतक आदित्य तामाङ्गको परिवारलाई सहयोग गरेको छ ।
शिवसताक्षी ९ स्तिथ संगम चोकका १५ वर्षीय आदित्य तामाङ्गको ६ दिन अघि बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा मृत्यु भएको थियो ।
कुटपिटबाट मृत्यु भएको आदित्यका परिवारलाई नेकपा एमाले शिवसताक्षी ९ नम्बर वडा कमिटीले नगद २९ हजार ९२० रुपैया सहयोग प्रदान गरेको हो ।
जहाँ अप्ठ्यारो त्यहाँ एमाले भन्ने मुल नारासहित समाजमा दुःख पीडामा परेका नागरिलाई सहयोग गरेको नेकपा एमाले वडा कमिटी ९ का अध्यक्ष लोकेश खनालले जानकारी दिए । उनले तामाङ्ग परिवार अति विपन्न अवस्थाको रहेकाले नेकपा एमाले वडा कमिटीले अप्ठ्यारोमा परेको परिवारलाई सानो सहयोग गरेको बताए । उनले भने, “एमाले सधैं पीडा र अप्ठ्यारो परेका जनताको साथमा छ ।
गएको ६ दिन अघि तामाङ्ग परिवारले उपचारमा सक्दो प्रयास गरे पनि आदित्यको जीवन बचाउन सकिएन । उनको उपचारको क्रममा विण्डसी अस्पताल विर्तामोडमा मृत्यु भएको थियो । घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।
आजै मृतक आदित्यकी आमा सीता तामाङ्गको पनि निधन भएको परिवारले जानकारी दिएको छ । केही समयदेखि जण्डिस रोगबाट ग्रस्त सीताले पनि असह्य पीडाका बीच यो संसार छाडेकी छिन् । तामाङ्ग परिवारमा अब मृतक आदित्यका पिता र एक नाबालक भाई मात्र रहेका छन् ।
सहयोगका क्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेगाहाङ्ग थोप्रा, जिल्ला सचिवलय सदस्य तथा क्षेत्र नं. ४ का संयोजक धनबहादुर थेवे लगायतको उपस्थिति रहेको थियो ।


