झापा, २४ असार । स्वास्थ्य कार्यालय झापा र करुणा फाउण्डेसन नेपालको संयुक्त आयोजनामा जन्मजात अपाङ्गता, विशेषगरी न्युरल ट्युब डिफेक्टको रोकथामका लागि समुदायस्तरमा फोलिक एसिड चक्की सेवनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले सामाजिक सञ्जाल (विशेषगरी फेसबुक) मा आधारित भिडियो प्रतिस्पर्धा आयोजना गरिएको थियो ।
सन्तानको योजना बनाइ रहेका दम्पती तथा गर्भवती महिलाहरूले गर्भावस्थाको प्रारम्भिक तीन महिनामा सेवन गर्नुपर्ने फोलिक एसिड चक्कीको महत्वसम्बन्धी सन्देशलाई व्यापक बनाउन प्रतियोगिता आयोजना गरिएको हो।
प्रतियोगिता अन्तर्गत झापाका विभिन्न पालिकाका स्वास्थ्य संस्थाहरूलाई तीन समूहमा विभाजन गरी सेवा गुणस्तर, कार्यसम्पादन, सेवा पहुँच र समुदायको सहभागिता लगायतका सूचकहरूका आधारमा मूल्यांकन गरिएको थियो। मूल्यांकनका आधारमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरूलाई प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरिएको छ।
समूह ‘क’ अन्तर्गत भद्रपुर नगरपालिकाको शहर स्वास्थ्य केन्द्र–८ बाट रमला बराल नेतृत्वको टोली प्रथम, बिर्तामोड नगरपालिकाको नगर अस्पतालबाट दीपा श्रेष्ठको टोली द्वितीय र मेचीनगर नगरपालिकाको धाइजन स्वास्थ्य चौकीबाट आचला निरौलाको टोली तृतीय भएका छन्।
समूह ‘ख’ मा शिवसताक्षी नगरपालिकाको पाँचगाछी स्वास्थ्य चौकीबाट रोशिका श्रेष्ठ नेतृत्वको टोली प्रथम, दमक नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा केन्द्र–४ बाट लुना दाहालको टोली दोस्रो र कमल गाउँपालिकाको आधारभूत सेवा केन्द्र–१ बाट देवराज पराजुलीको टोली तेस्रो भएका छन्।
त्यसैगरी, समूह ‘ग’ अन्तर्गत बाह्रदशी गाउँपालिकाको स्वास्थ्य शाखाबाट राम शाह नेतृत्वको टोली प्रथम, कचनकवल गाउँपालिकाको बालुबाडी स्वास्थ्य चौकीबाट हर्क गुरुङको टोली दोस्रो र हल्दिवारी गाउँपालिकाको आधारभूत स्वास्थ्य सेवा केन्द्र–२ बाट कविता खनालको टोली तेस्रो भएका छन्।
प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु ५,०००, द्वितीयलाई रु ३,००० र तृतीयलाई रु २,००० पुरस्कार प्रदान गरिनेछ। आयोजक संस्थाहरूका अनुसार, मातृ तथा नवजात स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मीहरूको मनोबल अभिवृद्धि गर्दै सेवा प्रवाहको प्रभावकारिता बढाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफल र प्रेरणादायी भएको छ।


