झापा,२५ असार । रसुवामा मंगलवार आएको भीषण बाढीले ज्यान गुमाउनेको संख्या ९ पुगेको छ भने अझै १९ जना बेपत्ता रहेका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार मंगलबार राति चितवनको त्रिशूली नदी किनार १५ किलोमा एक शव फेला परेको थियो। उक्त शव रसुवाबाट बेपत्ता भएका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको छ।
प्रहरी नायब महानिरीक्षक एवं केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार हालसम्म बेपत्ता हुनेमध्ये दुई जना प्रहरी, छ जना चिनियाँ नागरिक र ११ जना सर्वसाधारण छन्। घटनामा ५७ जनाको सकुशल उद्धार गरिएको छ।
बाढी प्रभावित क्षेत्रको खोज तथा उद्धारका लागि ३८३ जना प्रहरी परिचालन गरिएको छ। बाढीले नेपाल–चीन सीमाको मितेरी पुल, २४ वटा कन्टेनर, ६ ट्रक र ३५ इभी गाडी बगाएको छ। साथै, धुञ्चेदेखि टिमुरेसम्मको सडक अबरुद्ध भएको छ।
बाढीका कारण रसुवागढी जलविद्युत आयोजना ड्याम र भन्सार कार्यालयको यार्डमा समेत क्षति पुगेको प्रहरीले जानकारी दिएको छ।


