झापा, २५ असार । झापा भद्रपुर नगरपालिका–७ मा स्थित चिया पसल नजिक हुलाकी लोकमार्गबाट मंगलबार साँझ प्रहरी टोलीले दुई जनालाई लागुऔषधसहित पक्राउ गरेको छ।
उनीहरुलाई नियन्त्रणमा लिने क्रममा एक व्यक्तिलाई गोली प्रहार गरी पक्राउ गर्नुपरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकरी दिनुभयो ।
मंगलबार साँझ जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो, काँकडभिट्टाबाट खटिएको टोलीले शंकास्पद रुपमा रहेका दुई जनालाई जाँच गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्न प्रयास गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड गोली चलाएको प्रवक्ता खड्काले बताउनुभयो ।
प्रहरीले भारत बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नशरुदिन मियाँलाई पक्राउ गरेको हो ।
मनिसुर आलमको साथबाट प्लास्टिकसहित १११ ग्राम ५० मिलिग्राम र प्लास्टिकबाहेक १०३ ग्राम ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । नशरुदिन मियाँको दाहिने खुट्टामा गोली लागेर सामान्य घाइते भएका थिए । उनलाई ओमसाई पाथीभरा अस्पताल, भद्रपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। उनको साथबाट प्लास्टिकसहित १०८ ग्राम ९० मिलिग्राम र प्लास्टिकबाहेक १०२ ग्राम १० मिलिग्राम ब्राउन सुगर फेला परेको छ।
दुवै जनासँग गरी प्लास्टिकबाहेक २०५ ग्राम ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ।


