
महोत्तरी, २६ असार । धार्मिक एवं पारम्परिक चाडपर्वको समृद्ध संस्कृतिले भरिएको मधेशको प्राचीन मिथिला क्षेत्रमा आज गुरुपूर्णिमा पर्व मनाइँदैछ। हिन्दू परम्पराका अनुयायी मैथिल समुदायले यस पर्वमा गुरुप्रति श्रद्धा, भक्तिभाव र कृतज्ञता व्यक्त गर्छन्।
गुरुपूर्णिमा पर्वमा वेद, गायत्री मन्त्र र विशेष दीक्षाको शिक्षा दिने गुरुजनप्रति सम्मान प्रकट गरिन्छ। मिथिला अर्थात् विदेहभूमि प्राचीन कालका विद्वान अष्टावक्र, याज्ञवल्क्य, राजर्षि जनक, गार्गी तथा मैत्रेयीको तप, साधना र ज्ञानको केन्द्रभूमि रहँदै आएको छ।
मिथिला संस्कृतिका जानकारहरूका अनुसार यो पर्व परम्पराको निरन्तरता मात्र नभई पारिवारिक र सामाजिक अनुशासनको स्मरण गराउने अवसर हो। लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा. रवीन्द्र दास वैष्णव भन्छन्, ‘गुरुकुल परम्पराको शिक्षाले चराचर जगत् प्रति दायित्वबोध गराउँछ र परिपक्व नागरिक निर्माण गर्छ ।’
पर्वको अवसरमा मिथिलामा चहलपहल बढेको छ। नयाँ वस्त्र, मिठा परिकार र फलफूल गुरुजनलाई चढाउने परम्परा छ। गुरुलाई सम्मानस्वरूप आभूषण र मिष्टान्न भोजन अर्पण गरिन्छ।
मठमन्दिरहरूमा विशेष समारोह आयोजना हुने परम्परा अनुसार आज मटिहानीस्थित पुरानो संस्कृत पाठशाला, भगवान् लक्ष्मीनारायण मन्दिर, याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ लगायतका स्थानमा प्रवचन तथा गुरुपूजा कार्यक्रम आयोजना गरिनेछ। राजकीय संस्कृत माध्यमिक विद्यालयका प्रधानाचार्य ईश्वरी पौडेलका अनुसार गुरु ज्ञानको उज्यालो हुन्, जसले अज्ञानको अन्धकार हटाउँछन् ।


