
कनकाई, २७ असार । झापाको कनकाई नगरपालिकाका २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जग्गा धनी पुर्जाको प्रमाणपत्र वितरण गर्ने भएको कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो ।
उहाँले शनिवार प्रधानमन्त्री ओलीको हातबाट कनकाई-३ स्थित सुरुङ्गामा रहेकोे कनकाई उद्योग वाणिज्य संघको हलमा कनकाई नगरपालिकाका विभिन्न वडाका २ सय ८ जनालाई धनीपुर्जा वितरणको सम्पूर्ण तयारी पूरा गरिसकिएको कनकाई नगरपालिका भुमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले जानकारी दिनुभयो ।

२०७४ सालदेखिनै कनकाई नगरपालिकाले यस क्षेत्रका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको थियोे । यसअघि कनकाईका विभिन्न वडाका १सय ६० जनालाई धनीपुर्जा वितरण गरिएको नगरपालिकाको तथ्यांकमा उल्लेख गरिएको छ।
कनकाईमा वडानम्बर ३ मा मात्रै भुमिहिन सुकुम्वासी ५३ जना, भुमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ जना गरी कुल १ सय २७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गर्दैछन् ।
यसबाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भुमिहिन दलिततर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरि जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले प्रधानमन्त्री ओलीको हातबाट धनीपुर्जा प्राप्त गर्ने जनाएको छ ।
कोशी प्रदेशमा सबैभन्दा बढी काम भएर पनि कम सङ्ख्यामा धनीपुर्जा वितरण भएको भनेर आलोचना हुदै आएको कनकाई नगरपालिकामा इतिहासकै सबैभन्दा बढी सङ्ख्यामा एकसाथ धनीपुर्जा प्राप्त गर्ने भएसगै यस क्षेत्रमा खुशीयाली छाएको छ ।

कनकाई नगरपालिका क्षेत्रमा आगामी मंसिर महिनाभित्रै थप सुकुम्वासी, अव्यवस्थित बसोवासी र दलित परिवारलाई धनीपुर्जा वितरणको तयारी स्वरुप कामहरु तिव्ररुपमा अगाडी बढाईरहेको प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले जानकारी दिनुभयो ।


