
झापा, २७ असार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकता हुने भएको छ। अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमले आज पार्टी एकताको सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो।
सहमति पत्रमा राजनीतिक दर्शन, सिद्धान्त, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहेको उल्लेख गरिएको छ। साथै नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्नुपर्ने ऐतिहासिक आवश्यकतालाई ध्यानमा राख्दै दुबै पक्ष एकताबद्ध हुने सहमति भएको बताइएको छ।
एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालका अनुसार आगामी साउन २ गते राष्ट्रियसभा गृहमा विशेष कार्यक्रम गरी पार्टी एकताको औपचारिक घोषणा गरिनेछ। उहाँका अनुसार लामो समयदेखि दुवै पक्षबीच औपचारिक तथा अनौपचारिक छलफल हुँदै आएको थियो।



