झापा, २७ असार । रसुवाको माथिल्लो जलाधार क्षेत्रस्थित हिमताल विस्फोटपछि मङ्गलबार आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा थप दुई शव फेला परेसँगै यो सङ्ख्या पुगेको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार बाढीबाट प्रभावित भई अलपत्र परेका तथा सडक अवरुद्ध हुँदा रोकिएका ८६२ जनाको उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।
हालसम्म एक जनाको शव सनाखत भएको छ भने अन्यको सनाखत हुन सकेको छैन। कतिपयको अवस्थाले चिन्न गाह्रो भएको र कतिपय शवमा केवल मानव अङ्गहरू मात्र फेला परेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार १९ जना अझै बेपत्ता छन्। हराइरहेका एक प्रहरी सहायक निरीक्षक ९असई० लालबहादुर श्रेष्ठको शव पहिचानपछि अन्त्येष्टि गरिएको छ, भने अन्य शवको सनाखत नहुँदा अस्पतालमा राखिएको छ।
उद्धार कार्यका लागि १,३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ भने खोजी कार्य जारी छ। बाढीले नेपाल–चीन सीमा क्षेत्रको मितेरी पुल, २४ कन्टेनर, छ ट्रक, ४२ इभी गाडी बगाएको छ। धुन्चे–टिमुरे सडकमा ठूलो क्षति पुगेको छ। रसुवागढी हाइड्रोको ड्याम र भन्सार कार्यालयको यार्डमा पनि क्षति पुगेको छ।


