बैतडी, २८ असार । बैतडीको पाटन–६ खिपालीमा शुक्रबार बिहान साढे ५ बजे जीप दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन्। धनगढीबाट दार्चुलाको गन्नातर्फ गइरहेको सुप प्र ०१–००१ ज १३७२ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल भिरमा खसेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
दुर्घटनामा डिलासैनी–१ का ४५ वर्षीय रामकुमार राना, ५१ वर्षीया कलमा धामी, ३२ वर्षीय किरण बोहरा, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा, २१ वर्षीय हेमन्त प्रसाद भट्ट र चालक २४ वर्षीय सन्तोष बहादुर राना घाइते भएका हुन्।
प्रहरीका अनुसार चालक सन्तोष राना, कलमा धामी र किरण बोहराको अवस्था गम्भीर रहेको छ। इलाका प्रहरी कार्यालय पाटन र स्थानीयवासीले घाइतेको उद्दार गरी पाटनस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाएका छन्। गम्भीर घाइतेको थप उपचारका लागि रेफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण भने अझै स्पष्ट भएको छैन।


