झापा, २८ असार । झापाको कनकाई नगरपालिकामा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा २ सय ८ घर परिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिने भएको छ।
कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलका अनुसार आज प्रधानमन्त्री ओलीको हातबाट कनकाई–३ स्थित सुरुङ्गामा रहेको कनकाई उद्योग वाणिज्य संघको हलमा धनीपुर्जा वितरण गरिने भएकोह हो ।
२०७४ सालदेखि सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा दलित समुदायका लागि धनीपुर्जा वितरणको कार्यक्रम सञ्चालन हुँदै आएको नगरपालिकाले जनाएको छ। यसअघि १ सय ६० जनालाई धनीपुर्जा वितरण गरिसकिएको तथ्यांकमा उल्लेख छ।
यसपटक वडानम्बर ३ मा भुमिहिन सुकुम्बासी ५३ जना, दलित ३ जना र अव्यवस्थित बसोबासीका आधारमा ७१ जनाले गरी कुल १ सय २७ जनाले धनीपुर्जा प्राप्त गर्नेछन्। वडानम्बर ६ मा ८० जना र वडानम्बर ८ मा १ जना सुकुम्बासीले प्रमाणपत्र पाउने कनकाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेले बताउनुभयो ।


