
बिर्तामोड, २८ असार । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयले बी टेच इन एआई कक्षा सञ्चालन गर्ने भएको छ ।
मौसलका विद्यार्थीहरुलाई आधुनिक प्रविधिको शिक्षा उपलब्ध गराउने उद्देश्यले महाविद्यालयले यसै शैक्षिक सत्र २०८२ देखि बी टेच इन एआई कक्षा सञ्चालन गर्न लागेको हो ।

आज आयोजित पत्रकार सम्मेलनमा महाविद्यालयका प्राचार्य डाक्टर रूपकप्रसाद खनालले युग सापेक्ष शिक्षा दिने उद्देश्यले बी टेच इन एआई कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
यस वर्षदेखि सञ्चालन हुने बी टेच इन एआई कक्षामा ४८ जना विद्यार्थी भर्ना हुन सक्ने प्राचार्य खनालले बताउनुभयो । कम आर्थिक अवस्था भएका तर अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
भर्ना भएका विद्यार्थीको संख्याको आधारमा १० प्रतिशत विद्यार्थीले छात्रवृत्ति पाउनेछन् भने यस कलेजले बिगतदेखि नै सेमिस्टरमा उत्कृष्ठता हासिल गर्ने एक जना विद्यार्थीलाई १०० प्रतिशत छात्रवृत्ति दिदैं आएको छ ।
एक पटकमा ४८ जना बिद्यार्थीलाई एक साथ कम्प्युटर प्रयोगशालामा सिकाउन सक्ने व्यवस्था गरिएको महाविद्यालय ले जनाएको छ । कम्प्युटर ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोपोसेसर ल्याब, आइटीओ ल्याब लगायतका ल्याबको व्यवस्था गरिएको फ्याकल्टी कोअर्डिनेटर बिमल राजवंशीले जानकारी दिनुभयो ।
पछिल्लो समय तुलनात्मक रुपमा आइटी क्षेत्रमा विद्यार्थीको आकर्षण वृद्धि हुँदै गएकाले बी टेच इन एआई को कक्षा सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो।
बिए एलएलबीको कक्षा पनि सञ्चालन हुँदै
त्यस्तै, गोमेन्द्र बहुमुखी महाविद्यालयको सञ्चालकहरुले नै स्थापना गरेको शैक्षिक संस्था जीएम कलेजले बिए एलएलबीको कक्षा गर्ने भएको छ ।
राजश्री जनक विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले बिए एलएलबीको सञ्चालनमा आएको हो । राजश्री जनक विश्व विद्यालयबाट गत वर्ष २०८१ मा सम्बन्धन लिएको भए पनि यसै शैक्षिक सत्र २०८२ देखि पठन-पाठन शुरू गर्न लागिएको कलेज प्रमुख सरस्वती भुर्तेल खनालले जानकारी दिनुभयो ।
बिए एलएलबीमा जम्मा पाँच बर्षको दशवटा सेमिस्टर हुने प्रमुख खनालले बनाउनु भयो । कोशी प्रदेशको पूर्वमा सर्वप्रथम स्थापना भएको कलेजले कानुनको क्षेत्रमा जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।
यस बर्षदेखि संचालन हुने बिए एलएलबीको कक्षामा जम्मा ४० जना विद्यार्थी भर्ना हुन सक्ने छन् भने कम आर्थिक अवस्था भएका तर अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
विद्यार्थीलाई प्रयोगात्मक रुपमा अध्यापन गराउनका लागि कलेजले एक इजालस कक्ष पनि तयार गरेको छ । जसमा विद्यार्थीले अदालतमा जस्तै अभ्यास गर्न सक्छन् । यसका साथै प्रविधिसँग पनि सँगसँगै अगाडि बढनका लागि ४० जना विद्यार्थीलाई एक साथ कम्प्युटर प्रयोगशालामा सिकाउन सक्ने व्यवस्था गरिएको छ ।
पुस्तकालयबाट प्रत्येक विद्यार्थीलाई पाठ्यक्रम अनुसारका पुस्तक उपलब्ध गराइने कलेज जनाएको छ । कार्यक्रमको सहजीकरण महाविद्यालयका बीबीए को-अर्डिनेटर शेखर पाण्डेले गर्नु भएको थियो ।

