ताप्लेजुङ, २८ असार । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेपस्थित थाक्पाखोलामा हालैको बाढीले क्षति पुर्याएको लघु जलविद्युत् परियोजनाको मर्मत कार्य आजदेखि सुरु गरिएको छ।
बाढीले झण्डै १५० मिटर कुलो बगाउँदा दुई सयभन्दा बढी घरधुरी विद्युत् सेवाबाट वञ्चित बनेका थिए। वडाध्यक्ष पेम्बा टाँसी शेर्पाका अनुसार पहरामा ड्रिलिङ र आरसीसी प्रविधिबाट कुलो पुनर्निर्माण गर्नुपर्ने भएकाले मर्मत कार्य सम्पन्न हुन एक महिना बढी लाग्ने अनुमान छ। विद्युत् सेवा अवरुद्ध हुँदा स्थानीयवासी एक महिनादेखि अँध्यारोमा बस्न बाध्य भएका छन्।
मर्मतका लागि अनुमानित लागत २० लाख रुपैयाँ रहेको छ। यसमध्ये पाँच लाख रुपैयाँ विपद् व्यवस्थापन कोषबाट, फलामको रड रिभर साइड हाइड्रोपावर कम्पनीबाट, सिमेन्ट र बालुवा पालिकाबाट व्यवस्थापन गरिनेछ। बाँकी कार्य जनश्रमदानमार्फत गरिने वडाध्यक्ष शेर्पाले जानकारी दिनुभयो।
त्यसैदिनको बाढीले ओलाङचुङगोला, लावाजिन र टाँसी जाने सडक तथा दुई आरसीसी पुल, एक झोलुङ्गे पुल र काठे पुलमा समेत क्षति पुर्याएको छ। हाल ती क्षेत्रमा यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ।
थाक्पाखोला जलविद्युत् केन्द्रले विगत तीन वर्षदेखि ५२ किलोवाट विद्युत् उत्पादन गर्दै २६२ घरधुरीलाई सेवा दिँदै आएको थियो। सो क्षेत्रमा राष्ट्रिय प्रसारण लाइन अझै पुग्न सकेको छैन।


