झापा, २८ असार । आकर्षक तलबको लोभ देखाएर अल्बानिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई महिला पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ की ३५ वर्षीया विमला दनुवार र नागार्जुन नगरपालिका–१ बस्ने कास्की पोखरा महानगरपालिका–२६ की ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ।
दनुवारले चार जनाबाट रु ८ लाख र रोक्का मगरले दुई जनाबाट रु २ लाख लिएर सम्पर्कविहीन भएको उजुरीपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो। दुवै जनालाई वैदेशिक रोजगार विभाग, ताहाचलमा अनुसन्धान तथा कारबाहीका लागि पठाइएको प्रहरीले जनाएको छ।
त्यस्तै, डलर साटिदिन्छु भन्दै ठगी गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ ९कर्म वाङ्गेल पाइन०, २५ वर्षीय प्रकाश तामाङ ९सूर्यबहादुर पाइन०, ३६ वर्षीय सागर ९सन्तवीर पाइन० र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ वर्षीय विष्णुकुमार रुम्बा रहेका छन्।
प्रहरीका अनुसार असार २२ गते उनीहरूले छ हजार अमेरिकी डलर साट्ने बहानामा सात लाख रुपैयाँ लिनुपर्ने भन्दै भक्तपुरको चाँगुनारायण–४ हलछापस्थित जंगलमा पीडितलाई बोलाई नक्कली पेस्तोल देखाएर नगद र मोबाइल लिएर फरार भएका थिए। उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार चारै जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट दुईवटा सवारीसाधन (स्कुटर र मोटरसाइकल), नगद रु ६४ हजार ४०, एक थान चेक र १० थान मोबाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ।


