झापा, २८ असार । पत्रकारिताको माध्यमबाट खेलकुदको विविध क्षेत्रमा योगदान पुर्याएको भन्दै न्यूज सञ्जाल डटकमका सम्पादक एवं नेपाल खेलकुद पत्रकार मञ्च झापाका संस्थापक अध्यक्ष रमेश समदर्शी राईसहित मोरङ र सुनसरीका सञ्चारकर्मी अभयकुमार राई, सुमन सुस्केरा तथा रमा दाहाललाई कोशी प्रदेश खेलकुद विकास बोर्डले जनही रु १० हजारसहित सम्मान गरेको छ।
विराटनगरमा आयोजित कार्यक्रममा उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीलाई पनि जनही रु ५ हजारदेखि रु १२ हजारसम्म नगदसहित सम्मान गरिएको थियो। राष्ट्रपति रनिङ शिल्ड, अन्तरप्रदेश तथा राष्ट्रियस्तरीय प्रतियोगितामा पदक विजेता खेलाडीहरूलाई नगदसहित पुरस्कृत गरियो।
निजी क्षेत्रबाट खेल प्रवर्धनमा योगदान पुर्याएको भन्दै उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई जनही रु ११ हजारसहित सम्मान प्रदान गरियो। पूर्वअन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, सिद्धान्त लोहनी, महेश रिजाल, लवभक्त श्रेष्ठ, जितेन्द्र चौधरी, किरण लामा तामाङलगायतलाई दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरिएको थियो।
कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा रु ६ अर्ब विनियोजन गरिएको बताए। कार्यक्रममा सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्यसचिव कृष्ण (पर्शुराम) बस्नेतसहितले पुरस्कृत एवम् सम्मानित व्यक्तित्वहरूलाई सम्मान प्रदान गरे।


