
झापा, २८ असार । भारत मध्य प्रदेशको बैतुल जिल्लाको माछीस्थित एक प्राथमिक विद्यालयमा शनिबार कक्षा ५ का दुई विद्यार्थी पुरानो मोबाइल फोनको ब्याट्री प्रयोग गरी बल्ब बाल्ने प्रयास गर्दा विस्फोट भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, विस्फोटमा एक विद्यार्थीको दाहिने हातका दुई औँला क्षतविक्षत भएका छन् भने एउटा औँला भुइँमा खसेको छ। अर्का विद्यार्थी पनि घाइते भएका छन्।
प्रारम्भिक अनुसन्धानमा विद्यार्थी अलकेसले फोहोरमा फेला परेको पुरानो ब्याट्री विद्यालय ल्याएको खुलासा भएको छ। खाजा खाने समयमा अलकेस र उनका साथी भावेशले तार जोडेर बल्ब बाल्ने प्रयास गर्दा विस्फोट भएको हो।
प्रधानाध्यापकका अनुसार घाइते विद्यार्थीलाई झल्लरको सरकारी अस्पतालमा प्राथमिक उपचारपछि जिल्ला अस्पतालमा भर्ना गरिएको छ। हाल उनीहरूको अवस्था स्थिर रहेको जनाइएको छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। विस्फोटको कारण र प्रयोग गरिएको सामग्रीबारे थप जानकारी संकलन भइरहेको छ।


