
झापा, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्त्वले अनावश्यक हल्ला फैलाएको आरोप लगाएका छन् ।
आइतबार दमक नगरपालिकास्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्ता प्रचारप्रति जवाफ दिन आवश्यक नरहेको बताए ।
विश्व बैंकको सहयोगमा निर्माण भएको उक्त ४.८६ किमी सडक नेपालभरका १७ गौरवका आयोजनामध्ये एक हो । रु ४४ करोड २४ लाख लागतको सडक समयमै सम्पन्न भएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणको लहर ल्याउने अभियानअन्तर्गत यो आयोजनालाई नमुना परियोजनाको रूपमा उल्लेख गरे । उनले दमकको बेलडाँगीमा विशाल रङ्गशाला निर्माणको घोषणा गर्दै, स्वयंसेवी भावनासहित सञ्चालित निःशुल्क अनलाइन कक्षाबाट यस वर्षको एसईई नतिजा १३ प्रतिशतले सुधार भएको दाबी गरे ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, उद्वव थापा लगायतको उपस्थिति रहेको थियो ।



