
झापा, २९ असार । झापाको दमक नगरपालिका–३ स्थित संगम चोकमा आज दिउँसो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
दमकको डिपु चोकबाट आम्दा तर्फ आउँदै गरेको मे १ ख २८८४ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको मे ११ प ५४५३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार एक महिलाको मृत्यु भएको छ।
दुर्घटनामा स्कुटी चालक ४४ वर्षीया टिका गौतमको दाहिने घुँडामा सामान्य चोट लागेको छ। स्कुटीको पछाडि सवार ५५/५६ वर्षीया लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको छ। उनी नारायण प्रसाद गौतमकी श्रीमती हुन्।
दुर्घटनामा संलग्न टिपर, स्कुटी तथा टिपर चालक ४६ वर्षीय तोयानाथ बिक, झापा बिर्तामोड न.पा.–२ निवासी, इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेका छन्।
दिउँसो कानुनी प्रक्रिया सम्पन्न गरी मृतकको शव पोष्टमार्टमका लागि दमक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।


